मेरो घर छेउ
अहिले नयाँ पसल खुलेको छ,
'पुरस्कार पसल'
पसल अगाडीको बोर्डमा
ठूलो अक्षरले लेखिएकोछ
हे महोदय,
कस्तो पुरस्कार खोज्नु भएको?
रोजी रोजी, छानी छानी लानुहोस्
अब पुरस्कार नपाएर मर्ने दिन गए।
मैले साहुजीलाई सोधे
कस्तो पसल खोल्नु भएको?
यस्तो नि काही पसल हुन्छ?
साहुजीले मुस्कुराउदै सोध्नु भो
कहिले पुरस्कार पाउनु भएकोछ?
‘छैन’
केही लेख्नु भएको छ?
‘अलिअलि’
कति भयो लेख्न थालेको?
‘१५-२० वर्ष’
हो यो पसल
तपाई जस्तैहरूको लागि हो
देख्नु भयो
खुलेको दुई दिन मै
सबै पुरस्कार बिक्री भैसकेका छन्,
अब केही मात्र बाँकी छ,
त्यो पनि भरैसम्ममा बिक्री हुनेछ।
‘तपाईको पुरस्कार कस्ले किन्छ?’
त्यो माख्लाघरे कान्छो छैन
एकै दिनमा तीनवटा किनेर लग्यो
सबै राम्रा र महँगा पुरस्कार।
‘उल्ले के कुरामा योगदान गरेको छ?’
पुरस्कार पैसाले पाइन्छ
योगदान चाहिन्न
त्यतिकैमा एउटा ग्राहक आयो
‘पुरस्कार छ?’
छ कस्तो चाहिने हो?
ताम्रपत्र सहितको कि सामान्य?
‘किनेपछि राम्रै किन्ने हो’
लु यो लिनुस् सबैभन्दा राम्रो
‘पैसो कति हो?’
कति दिन सक्नु हुन्छ?
‘उधारो दिनुहुन्छ?’
पुरस्कार नि उधारो?
‘पुरस्कार चाहिएको छ पैसा छैन’
आफ्नै मान्छे विश्वास गरे
लिएर जानुहोस्
‘पुरस्कारको वारेन्टी छैन?’
कतिको वारेन्टी लिनुहुन्छ?
छ महिना, एक वर्ष, पाँच वर्ष?
चिन्ता गर्नु पर्दैन
हाम्रो पसलको पुरस्कार धेरै टिक्छ
घामपानी, हुरीवतास, असिनाले यो बिग्रदैन
‘लु राखिदिनुहोस् झोलामा’
खुशी हुदै ग्राहक लाग्छ आफ्नो बाटो
पसले नयाँ पुरस्कारको
प्याकेट खोल्दैछन्।
म छाम्छु खल्तिमा
र निकाल्छु गाता नभएको मेरो पुरानो किताब
मलाई देखेर किताब
केहि भन्न खोज्दैछ
किताबलाई हेर्दै म मौन उभिएको छु
साहुजी चिच्याउन थाले
‘पुरस्कार, पुरस्कार, पुरस्कार..
सस्तो, भरपर्दो, विशेष छुटसहित....’
पसल अगाडि अर्को ग्राहक उभियो
म सोच्दैछु
आजकल,पुरस्कार पसलको व्यापार चम्कदैछ।
-विश्वबन्धु कार्की, हाल:अमेरिका