विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ।

6/04/2016

कविता-'गुलाबको थुंगा बोकेर'

यो कपास झै कोमल मन
गहुंगो छ किन किन तिम्रो यादमा
हेर्छु त्यो आकाशलाई
तिम्रो मुस्कान मडारिरहे झै
अनि तिम्रा खुसीहरु
थोपा थोपा बनि खस्न खोजिरहे झै लाग्छ
तर खस्न सकिरहेछैन
मेरा खाली हातहरुमा।
त्यो इन्द्रेणी मेरो छाती मै
आएर बिलाए झै लाग्छ
अनि फेरि
पल्टाउछु हाम्रा प्रेमका पानाहरु
खोज्छु एक-एक पाना भित्र
हाम्रा सम्बन्धमा बाटिएका प्रेमका पोयाहरुलाई
तर सबै
भुई भरि छरिएका
फूलका थुँगाहरु जस्तै लाग्दछन्
जस्लाई मेरो अँजुलीमा राख्न खोजिरहेछु।
तर त्यो निष्ठुरी बतास
यस्का पत्र पत्रहरुलाई उडाउदै लगिरहेछ
म भन्दा कैयौ कोश दुर।
त्यो लडेको जीवनको रथ उठाउन
फेरि पनि
टोलाई बस्दैछु तिम्रो सुन्दर आगमन कुरेर
यो दोबाटोमा
एउटा गुलाबको थुंगा बोकेर।

कामना गरिरहेछु पल पल
त्यों मन्दिरको ईश्वरसंग
त्यो एउटा कालो सपना मात्रै होस भनि।
तिम्रो हातको स्पर्शमा
मात्रै पनि मलाई संसार जित्छु झै लाग्थ्यो
तर जीवन तिमीले मैले सोचेको जस्तो
कहाँ हुँदोरहेछ र ?
यो सुन्दर संसार सिंगार्ने हाम्रा अभिलासाहरु
सबै बियोगका खाडलहरुमा
आज पुरिन बाध्य भए।
तिम्रो अनुपस्थितिमा
यो जीवनको रंग पनि
फिक्का फिक्का लागिरहेछ।
त्यो पापी समय,
जसले तिमीलाई लिई गयो
हाम्रो सुन्दर संसार उजाड़ बनाई।
त्यो निष्ठुरी समय,
जोसंग म गुनासो गरिरहेछु
यो उजाडिएको जिन्दगीमा
उ विनाको बसन्त चाहिन्न भनेर।
त्यसैले,
जब सम्म तिमी फर्किन्नौ
पर्खि बस्दैछु तिम्रो सुन्दर मिलन कुरेर
यो दोबाटोमा
एउटा गुलाबको थुंगा बोकेर।।
                 ***          -विश्वबन्धु कार्की (हाल: भर्जिनिया,अमेरिका)