विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

January 06, 2018

कविता ‘पुरस्कार पसल’

मेरो घर छेउ 
अहिले नयाँ पसल खुलेको ,
'पुरस्कार पसल'
पसल अगाडीको बोर्डमा 
ठूलो अक्षरले लेखिएकोछ
हे महोदय,
कस्तो पुरस्कार खोज्नु भएको?
रोजी रोजी, छानी छानी लानुहोस्
अब पुरस्कार नपाएर मर्ने दिन गए।
मैले साहुजीलाई सोधे
कस्तो पसल खोल्नु भएको?
यस्तो नि काही पसल हुन्छ?
साहुजीले मुस्कुराउदै सोध्नु भो
कहिले पुरस्कार पाउनु भएकोछ?
छैन
केही लेख्नु भएको ?
अलिअलि
कति भयो लेख्न थालेको?
१५-२० वर्ष
हो यो पसल 
तपाई जस्तैहरूको लागि हो
देख्नु भयो 
खुलेको दुई दिन मै 
सबै पुरस्कार बिक्री भैसकेका छन्,
अब केही मात्र बाँकी ,
त्यो पनि भरैसम्ममा बिक्री हुनेछ।
तपाईको पुरस्कार कस्ले किन्छ?’
त्यो माख्लाघरे कान्छो छैन
एकै दिनमा तीनवटा किनेर लग्यो
सबै राम्रा महँगा पुरस्कार। 
उल्ले के कुरामा योगदान गरेको ?’
पुरस्कार पैसाले पाइन्छ
योगदान चाहिन्न
त्यतिकैमा एउटा ग्राहक आयो
पुरस्कार ?’
कस्तो चाहिने हो?
ताम्रपत्र सहितको कि सामान्य?
किनेपछि राम्रै किन्ने हो
लु यो लिनुस् सबैभन्दा राम्रो
पैसो कति हो?’
कति दिन सक्नु हुन्छ?
उधारो दिनुहुन्छ?’
पुरस्कार नि उधारो?
पुरस्कार चाहिएको पैसा छैन
आफ्नै मान्छे विश्वास गरे
लिएर जानुहोस्
पुरस्कारको वारेन्टी छैन?’
कतिको वारेन्टी लिनुहुन्छ?
महिना, एक वर्ष, पाँच वर्ष?
चिन्ता गर्नु पर्दैन
हाम्रो पसलको पुरस्कार धेरै टिक्छ
घामपानी, हुरीवतास, असिनाले यो बिग्रदैन
लु राखिदिनुहोस् झोलामा
खुशी हुदै ग्राहक लाग्छ आफ्नो बाटो
पसले नयाँ पुरस्कारको 
प्याकेट खोल्दैछन्।
छाम्छु खल्तिमा 
निकाल्छु गाता नभएको मेरो पुरानो किताब
मलाई देखेर किताब 
केहि भन्न खोज्दैछ
किताबलाई हेर्दै मौन उभिएको छु 
साहुजी चिच्याउन थाले
पुरस्कार, पुरस्कार, पुरस्कार..
सस्तो, भरपर्दो, विशेष छुटसहित....’
पसल अगाडि अर्को ग्राहक उभियो
सोच्दैछु
आजकल,पुरस्कार पसलको व्यापार चम्कदैछ।

-विश्वबन्धु कार्की, हाल:अमेरिका 

December 31, 2017

वर्ष २०१७ लाई फर्केर हेर्दा



वर्ष २०१७ले  विश्वमा केहि फरक छाप छाडेर बिदा हुदैछ। २०१७ यी व्यक्ति र विषयको वरिपरि रहेर बित्यो।समग्र रुपमा हेर्नु पर्दा २०१७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कै वरिपरि घुम्यो। जनवरी २०,२०१७मा अमेरिकाको ४५औ राष्ट्रपतिको शपथ लिए पछि ट्रम्पले चालेका कदमहरुले विश्वव्यापी तरङ्ग सिर्जना गर्यो। यही वर्ष उत्तर कोरियाले आफ्नो आणविक अभियानलाई नया उचाईमा पुर्याउदा उसको अमेरिका सँगको टकरावले कोरियन प्रायद्वीपमा जुनसुकै बेला युध्द शुरू हुन सक्ने परिस्थिति सिर्जना गरेको थियो, त्यो अवश्था २०१७मा भने टरेको छ।  


राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल शुरू गर्ने बित्तिकै मुश्लिम बाहुल्यता रहेका देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाए पछि त्यसको विरोधमा कैयौ प्रदर्शनहरु भए। सर्वोच्च अदालतले  ट्रम्पको कदमको  पक्षमा निर्णय गरेपछि मुश्लिम देश माथिको प्रतिबन्ध कायम राख्न ट्रम्प प्रशासनलाई आंशिक सफलता मिल्यो।

ट्रम्पले आफ्नो प्रशासनमा रहेका केहि व्यक्तिलाई पद्च्युद गरे। माइकल फ्लायन, सिन स्पाइसर, स्टिभ ब्याननहरु व्हाईट हाउसमा धेरै बेर टिक्न पाएनन। सबभन्दा बढ़ी चर्चा संघीय अनुसन्धान विभागका निर्देशक जेम्स कोमीको वर्खास्तीले पायो, त्यो निर्णय सँगै वाशिंगटन तात्यो।


ट्रम्प प्रशासनको ठूलो उपलब्धिको रुपमा कर कटौती विधेयक दुबै सदनबाट पारित हुनुलाई मानियो, उन्ले उक्त विधेयकलाई हस्ताक्षर गरिसकेका छन र सन २०१८ देखि यो कानूनको रुपमा लागु हुदैछ। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसको प्रभावको विषयमा अहिले पनि रबर्ट मुलरको छानबीन समितिले अनुसन्धान गरिरहेको छ।


यो वर्ष अमेरिकाको ह्यूस्टन टेक्सासमा हरिकेन हार्भी र फ्लोरिडा/पोर्टो रिको मा हरिकेन मारियाले ठूलो जनधनको क्षति पुर्यायो।
सूचना प्रबिधिको क्षेत्रमा यो वर्ष एप्पलले आफ्नो बहुप्रतीक्षित फोन आईफोन १० र ८  सार्वजनिक गर्यो। यही वर्ष रोबोट सोफियालाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो।


नेपालमा यो वर्ष स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनहरु शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा सम्पन्न भए। नेपालको संबिधान जारी भए पछि त्यसको कार्यान्वयनको लागि सम्पन्न भएका ती निर्वाचनहरुले नेपाललाई विकाश र सम्बृद्धिको दिशातर्फ अघि बढाउन कोशेढुङ्गा सावित हुनेछ।  

यहाँहरु सबैमा आउदै गरेको अंग्रेजी नववर्ष २०१८को हार्दिक मंगलमय शुभकामना। 

Featured Post (चित्रित पोस्ट)

BishwaArt