विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ।

6/05/2015

कविता :'मैले छाडेको स्वर्ग'

प्रभातमा
मेरो घरछेउ बज्ने
मन्दिरका घन्टीहरुका आवाज
सुन्न नपाउदा
आजकल,
म बहिरो बनिरहेछु,
मोटरगाडीका कानै खाने
टड्कारा हर्नहरु
मलाई पलपल लखेटीरहेछन्
जिन्दगि को युद्ध जित्न,
किनकि,
मैले लुम्बिनी छाडेर आए|

बिरामी शरीरलिएर
म महिनौ कोठामा थलिदापनि
पल्लो कोठाको 'हेल्लो हाइ'
मैले सुन्न पाएको छैन,
यन्त्रमानबहरु
पैसा बनाउने मेसिन जस्तै
बेखबर छन्
यो प्रेम र ममता संग,
लोपोन्मुख मनबतासंग,
किनकि,
मैले बुद्ध छाडेर आए|

दिनभर सुर्य नदेखेको
सूर्यमुखीको शरीरजस्तै
मेरो मन ओइलाइरहेछ
यी मसनघाट झैँ लाग्ने
कंक्रिटका जंगलहरुभित्र,
यो निलो आकाश
म बस्ने घरको
कयौ तल्लाहरुमाथि
झुण्डिएझैँ लाग्दा
मेरो चन्द्रसुर्य फहराएको
देख्न पाएको छैन,
किनकि,
मैले सगरमाथा छाडेर आए|

यो शोकेसमा
सजिएका सुगंधहिन फूलहरु
यो स्क्रिनमा झर्दै गरेको
सेतो झरना
मलाई फकाएझैँ गर्दैछन्,
फ्रिजभरि सजिएका
स्वाद भरेका जुसहरु,
त्यो ठेकीको महि भन्दा
खल्लो छ , नमिठो छ
किनकि,
मैले जन्मघर छाडेर आए|

तनाब छ,आक्रोश छ
सबैतिर,
दुनियादेखि विरक्तिएकाहरु
निदाउन नसकेर
स्लिपिङ्ग ट्याब्लेट खाइरहेछन,
मनलाई खुशीपर्न
कृत्रिम सान्त्वना दिइरहेछन,
अनि म
बाचेको अभिनय गर्दैछु
यो बिरानो भूमिमा ,
किनकि,
मैले स्वर्ग छाडेर आए|
(यो कबिता सम्पूर्ण प्रबासी मनहरुमा समिर्पित गर्दछु)
:-विश्वबन्धु कार्की ,हाल:भर्जिनिया अमेरिका