विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

April 01, 2018

समयको कुरुप तस्बिर

समयको कुरुप तस्बिरअधिकांश मानिसको जीवन संघर्षमा नै रुमल्लिएर बित्ने गर्दछ । संघर्ष, त्यस्ता मानिसहरूका निम्ति जीवन जिउने सूत्र र कला पनि हो । र, त्यस्ता मानिसहरू संघर्षका अनेक तह र आयाम सँगालेर बाँचेका हुन्छन् र उनीहरूका हरेक पाइला–पाइलामा संघर्षका रेखाहरू चिन्हित हुन्छ ।
उपन्यासकार विश्वबन्धु कार्कीले आफ्नो प्रथम उपन्यास ‘मोना’मार्फत नेपाली समाजको अत्यन्तै कुरुप र असमान अनुहारलाई सार्वजनिक गर्ने ध्येय सँगालेको प्रतीत हुन्छ । उपन्यासमा उनले सामाजिक एवम् परिवेशगत विडम्बनालाई धेरै नै मिहिन र प्रभावकारी ढंगले चित्रित गरेका छन् । एउटा समाज र परिवारभित्रका व्यक्तिको जीवनकथा बुनिएको ‘मोना’मा विपन्न वर्गका कामकाजी महिलाको जीवन–संसार हामीसामु उपस्थित हुन्छ । उनले नेपाली समाजमा नारी वर्गले भोग्नुपरेका दु:ख, कष्ट, उत्पीडन, अपमान, अवसादजस्ता पक्षहरूलाई कलात्मक ढंगले पस्किएका छन् उपन्यासमा ।
उपन्यासकी मूलपात्र मोना एउटा गरिब परिवारमा जन्मिएकी दु:खका अनेक आयामहरूसित परिचित व्यक्ति हुन् । ग्रामीण भेगमा जन्मिएका उनले सानैदेखि पारिवारिक दायित्व बेहोर्न बाध्य हुनुपर्छ । ग्रामीण क्षेत्रका एउटा गरिब परिवारका नारीले के–कस्ता दु:खका शृंखलाहरू पार गर्नुपर्छ ? यो सर्वविदितै पक्ष हो । दु:खका पक्षहरू घना रहेकै अवस्थामा, किशोरकालीन दिनहरूमा टेक्दै गर्दा उनी र उनका समकालीन दलित युवा चन्द्रेबीच मायाका पोयोहरू बाटिन्छन् । उनीहरू एकैसाथ जिउने र मर्ने वाचासँगै सपनाका बान्कीहरू पनि बुन्छन् । तर, परिस्थिति भने उनीहरूले सोचेअनुरूप सरल र सुगम तरिकाले विकसित हुँदैन । अपवादलाई छोड्ने हो भने, सामाजिक कुरीति, विसंगति, जातीय भेदभाव र धार्मिक/सांस्कृतिक जटिलताहरूले बेरिएको नेपाली समाजमा एउटा दलित युवा र गैरदलित युवतीबीच विवाह हुने कुरा असम्भवप्राय: नै हुन्छ । त्यही कारण, मोनाको बिहे एउटा सम्पन्न परिवारको युवासित हुन्छ । तर, मोनाको बिहे जुन युवासित हुन्छ, ऊ एड्सद्वारा पीडित व्यक्ति हुन्छ । सहरमा बसोवास गर्ने क्रममा त्यहाँका वेश्यालयहरूमा धाउने चरित्र भएका मोनाको पतिले अन्तत: मोना र उनको पेटमा रहेको शिशुलाई समेत एड्स सारेर मृत्युको सिकार बन्न पुग्छ । पतिको मृत्युपछि मोनाको जीवन कहालीलाग्दो स्थितिबीच गुज्रिन्छ र अन्तत: उसले आफ्ना बाल्यकालदेखिकै साथी चन्द्रेसित नै निकटता बढाउँछे । तर, चन्द्रेसित निकट भए तापनि उनीहरूको गाउँमा बस्ने वातावरण भत्किन्छ । गाउँमा अनेक किसिमका दु:ख, अपमान झेल्नुपरेपछि सहर छिरेका ती तीनै पात्रको दु:खद् अन्त्य हुन्छ । बियोगान्त तरिकाले उपन्यास टुंगिन्छ ।
नेपाली समाजको वास्तविक स्थितिको उत्खनन् गर्ने क्रममा ‘मोना’ले धेरै प्रश्न पनि उठाएको छ । हुन पनि, नारीहरू एकै दृष्टिमा चरित्रहीन बन्न पुग्छन्, यही नै नेपाली समाजको कटु यथार्थ हो । एउटी नारीलाई हरेक किसिमले प्रयोग गरेर उसलाई चरित्रगत हिसाबले समाप्त पार्नका लागि हरसम्भव प्रयास गर्ने गरिन्छ । त्यसको ज्वलन्त दृष्टान्त मोनाजस्तै असंख्य पात्र हुन् । साथै, एउटा पतिको घनघोर भोगवादी प्रवृत्तिका कारण उसका पत्नी र सन्तानले समेत कसरी दु:ख भोग्नुपर्छ र दारुण मृत्युको सिकारसमेत बन्न पुग्नु पर्दछ भन्ने देखाउने क्रममा पनि उपन्यास अग्रसर छ ।
नारीप्रति हिंसा र संवेदनहीनताको विष कतिसम्म फैलिएको छ ? यो पक्ष देखाउन सक्षम उपन्यासमा पारिवारिक अपवादको सम्पूर्ण दोष एउटी नारीको टाउको खन्याएर नेपाली समाजले आफूलाई कतिसम्म क्रूर र अमानवीयताको गोरेटोमा पाइला बढाइरहेको छ भन्ने पनि प्रस्ट पारेको छ । र, उपन्यासमा नारीप्रति समाजको पूर्वाग्रहको खुलासासमेत गरिएको छ । नेपाली समाजको विद्रुप तस्बिर उतार्न अग्रसर ‘मोना’ निम्न वर्गीय नेपाली सामाजिक जीवनको ‘रफ ड्राफ्ट’ प्रतीत हुन्छ । तर, उपन्यासभित्रका पात्रहरू भने ‘फेयर’ जीवन बाँच्ने उत्कट अभिलाषा राख्छन् । तर समाज, समय र परिस्थितिले तिनीहरूलाई ‘रफ’ मा नै बाँच्न बाध्य तुल्याउँछ ।
‘मोना’ केवल स्थुल निर्वाह र सामाजिक स्थितिहरूको बयानमा मात्र बढी केन्द्रित छ । पात्रहरू परिस्थितिसित टक्कर लिन त्यति सक्षम र सबल छैनन् । तथापि, विश्वबन्धुको यो उपन्यासले एउटा के आशा निश्चित रूपमा जगाउँछ भने, भविष्यमा उनीबाट नेपाली साहित्यक्षेत्र र पाठकहरूले अझ धेरै उम्दा उपन्यास पाउनेछन् ।
उपन्यासकार : विश्वबन्धु कार्की
विधा : उपन्यास
प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी, अमेरिका
पृष्ठ : २०८
मूल्य : २५०।–

साभार:🖋विवश  वस्ती ,ईबुधबार

Featured Post (चित्रित पोस्ट)

BishwaArt