विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

September 14, 2019

‘छुटेको रेल’ चढेर एउटा यात्रा

🖋कुसुम ज्ञवाली
क्याल्गरी,अल्बर्टा 


‘छुटेको रेल’ बजारमा आएपछि स्वाभाविक चर्चा-परिचर्चा भयो। प्रवासमा रहेर लेखिएको उपन्यास, विषयबस्तु पनि प्रवासकै अर्थात यो डायस्फोरिक उपन्यास हो। प्रवासको विषय पाठकहरूलाई रुची पनि हुने भयो। आधा करोड जनशक्ति देश वाहिर अर्थात प्रवासमा काम गर्छन्। त्यसको प्रभावमा त्यो भन्दा धेरैले प्रवासमा राम्रो आम्दानी हुने कामको सपना देख्छन्। पुस्तकलाइ प्रवासमा काममा जान चाहनेले पढ्नुपर्ने भनेर प्रचार गरिएका कारण पनि त्यो पाठकले यसलाइ रूचाएको हो। पुस्तकको दोसो संस्करणको तयारी हुँदै गर्दा यो पाठक प्रतिकृया लेखिदैछ। पुस्तकका कुरा सुरु गर्न भन्दा अगाडी मैले कसरी अनुभूत गरेँ ‘छुटेको रेल’मा यात्रा गर्दैगर्दा भन्ने वाक्यका कलश माथि सोँचको फूलको थुँगो राख्छु। लेखक विश्वबन्धू भाषा/साहित्यका औपचारिक विद्यार्थी वा प्रोफेसनल होइनन्, अर्थात् उनले भाषा साहित्य पढ्न विश्वविद्यालय गएनन्, न त नेपाली भाषाको अक्षर खेतिनै गरे। उनी पेशाले इन्जिनियर हुन। प्रोफेसनका हिसाबले उनले जीवनमा थुप्रै हिसाब गरे। कुस्त नक्सा कोरे। मनग्य रिपोर्ट लेखे। सुन्दर डिजाइनहरू श्रृजना पारेर पारिवारिक जीवनको आर्थिक रथ तानिरहे। उपन्यासहरूका श्रृजना भने उनले रहरले गरे, जे जति गरे। 

‘छुटेको रेल’ विश्वबन्धुले आत्मपरक ढंगले लेखेका छन्, अर्थात् मुख्य पात्र शिसिर हो, त्यसैलाइ ‘म’ पात्र जस्तै बनाए। यो सहजशैली हो लेखकको लागी। धेरै लचकता भएको शैली। धेरै प्रकृयाहरू सामाजिक सञ्जालमा पढ्दा यो आत्मकथा नै हो कि जस्तो गरेको पनि देखियो। वास्तवमा यसमा भुल गर्नु हुँदैन, म पात्र भएपनि त्यो पात्र लेखक होइन, हुन सक्छ, नहुन पनि सक्छ, आंशिक हुन वा नहुन पनि सक्छ।

लेखकले जस्तै त्रिभुवन विश्वविद्यालयको इन्टिट्युट अफ इन्जिनिएरिंगमा मैले पनि पढेँ। मैले इन्जिनिएर साहित्य समाज (इन्सास)का जन्मदाता विजय भट्टराइ र खड्गसेन ओली जस्ता हस्तीहरूलाइ स्मरण गर्छु, यो हार्दिकताका आदि संगठक। यसरी म अलिकति हार्दिक हुन सक्छु लेखकप्रति, सापेक्ष हुनसक्छु विश्वबन्धूसँग। तर पनि सकेसम्म एकपल्ट लेखक को थियो भनेर विर्सेर टिप्पणी गर्ने जमर्को गर्दैछु।

 (१ ) इमानदार अभिव्यक्ति
‘छुटेको रेल’को मुल पात्र शिशिरले आफुलाइ लागेको कुरा नढाटीकन बोलेको अनुभुत हुन्छ। उसका भनाइहरू सच्याइएका जस्तो लाग्दैन। उसका भनाइमा आम मान्छेका जस्ता धेरै प्याराडक्स छन्, त्यो लेखकले लुकाउन सक्थे, लुकाएनन्। यो इमानदारता हो। म पात्रले अहिलेको युगको एउटा सामाजिक रूपले सचेत नभएको युवाले जे जसरी सोच्छ र बोल्छ त्यो त्यसरी नै अर्थात् भनौं जसरी घटित भयो त्यसरीनै लेखेका छन्। उनले शिशिरलाई जसरी देखे जसरी भेटे त्यसरीनै प्रस्तुत गरे। लेखकले आफुले भोगेको र अनुभूत गरेको कुरा शिशिरलाई भारी बोकाएनन् होला भन्ने मेरो अनुमान हो, यो सहि हुन पनि सक्छ र नहुन पनि। कथा मुलत निम्नस्तरको साँस्कृतिक धरातल भएको एउटा समाजप्रति सचेत नभएको उडन्ते युवाको कथा हो। उसले जीवन र जगतलाइ अत्यन्त सतही ढंगले बुझेको देखाइएको छ। त्यस्ता युवाले बुझ्ने जीवन र जगत त्यस्तै नै हो।


लेखकले आफुलाइ आफूबाटै बाहिर निकाले। शिशिरलाई राखे। अनि लेखे। यो कठिन काम पनि हो। आफू गरिब भएर, धनीको भाषा हुबहु कल्पना गरेर बोल्न गाह्रो हुन्छ। आफू धनी भएर गरिबको भाषा बोल्न पनि उस्तै अप्ठेरो छ भनेर साहित्यमा बर्गको अस्थित्वको वारेमा पिएचडी थेसिस तयार पार्नु भएका रामप्रसाद ज्ञवालीले एउटा अर्कै प्रसंगमा भन्नुभएको थियो । आफुले नभोगेको पात्रको वारेमा स्वाभाविकता ल्याउन गाह्रो हुन्छ, त्यो यहाँ पनि देखिन्छ। विश्ववन्धूलाइ पनि त्यो मुस्किल परेको होला, किनकी त्यो पात्रले भोगेको विषय लेखकले भोगेको हो जस्तो लाग्दैन, त्यसैले अभिव्यक्तिमा कल्पना थप्न परेको छ। कल्पना गरिएको कुरा निकै कम मात्र स्वाभाविक जस्तो सुन्दर हुन्छ। यो अप्ठेरो कुरा हो, मलाइ यो बुझ्न मुस्किल छैन।

शिशिरले भोगेको भोगाइ उनले देखे। उनले त्यसलाई थोरै आफ्नो अनुभूति थपेर कथा बनाए। कथामा त्यो छनक प्रष्ट देख्छु मैले। चित्र बनाउँदा प्रकृति भन्दा सुन्दर बनाउन गाह्रो छ, प्रकृतिको विविध छटाको सम्पादित अंश प्रस्तुत गरिन्छ, त्यो सुन्दर हुन्छ।

लेखकले समाजको गति कसरी अगाडि बढ्छ, समाजको गतिका मुख्य तत्व के के हुन? समाजको गतिलाइ के ले कसरी भुमिका खेल्छ भन्ने पटक्कै हेक्का नभएको वा त्यसवारे प्रसस्त भ्रम रहेको एउटा ‘आम’ भनेर प्रचार गरिएको ब्यक्तिको चित्रण गरेका छन्। समाज, ब्यक्ति र सामाजिक वातारणका अन्तरसम्वन्ध र अन्तरविरोधको मेसै नपाएको एउटा पात्रलाइ चित्रण गर्नु निकै मुस्किल कामहो, जुन लेखकले गरेका छन्। लेखकले बनाएको पात्र यस्तो भएको भए हुन्थ्यो भन्ने आग्रह हुनसक्लान पाठकका आँखामा तर जुन पात्र चयन गरे त्यसलाइ न्याय गरेर चित्रण गरेका छन्। सही जीवन दृष्टि नभएको अर्थात स्थापित बैज्ञानिक मान्यतालाइ नबुझेको र नजानेको ब्यक्तिको चित्रण एउटा विज्ञानको विद्यार्थीले गरेको देखिन्छ त्यो इमानदारी हो, कमजोरी होइन।

 (२ ) कथानक भित्रको प्रस्टता
उनको उपन्यास पढेपछि उनको कथाको बैचारिकपक्षमा प्रस्टता देखेँ। ‘छुटेको रेल’को कुनै पनि पात्रले सामाजिक जिम्मेवारी वोध गर्ने, कुनै पनि निश्चित सामाजिक उद्देश्यका लागी समर्पित हुने गरेको देखिँदैन। कुनै सामाजिक समस्याको समाधानको लागि कुनै प्रयास गरेको देखिँदैन। आफू, आफ्नो परिवार भन्दा बाहिर कुनै दायित्व र जिम्मेवारी बोध गरेको कतै पाइँदैन, त्यो पनि अत्यन्त ब्यक्तिगत फाइदाका अर्थमा। त्यसको अर्थ, अत्यन्त मनगढन्त विचार र ब्यवहारको चित्रण गरिएको छ कथामा, मन परो मलाइ। खराबलाई जस्ताको जस्तै देखाउनु इमानदारी हो। पैसा र यौन भनेकै जीवन हो, पैसा र यौन (प्रेम शब्द प्रयोग गर्छन् पात्रहरूले धेरै ठाउँमा, त्यसमा झुक्किनु हुँदैन) ले सबै कुराको हो जीवनका लागी। पैसा र यौननै जीवनका सुखी बनाउन प्रयाप्त छ भन्ने धारणा राख्ने एउटा ठुलै जमात छ हरेक देश वा सामाजिक समूहहरू भित्र। त्यो जमातको कथा हो यो। त्यो जमातले सोच्ने, त्यो जमात जीवन र जगतसँग गर्ने व्यवहार ठीक यस्तै हुन्छ। त्यस कुरामा लेखक सक्षम हुनुहुन्छ। पादरीको कथा बारेमा टिप्पणी गर्दा त्यसमा पुराण पढेको कुरै आएन भन्नु हास्यास्पद हुन्छ। पादरीले पुराण पढ्दैन, बाइबल पढ्छ। महामानव बुध्दको भनाइमा जीवनमा दुख छ, दुखको कारण पनि छ भने जस्तै छुटेको रेलको कथाले पनि समाजमा रहेको दुखको चित्रण गरेको छ तर जुन मुल चरित्र चयन गरिएको छ, उसको प्रकृति, सोँच र धारणा बैज्ञानिक छैन त्यसैले उसले दुखबाट पार पाउने जुन जुन उपाए गरेको छ, त्यसमा प्रसस्त प्याराडक्स छ। हाम्रो जीवनमा पनि प्रसस्त प्याराडक्स हुन्छन्, त्यसलाइ मैले जीवनको यथार्थ चित्रणको रूपमा बुझ्छु। समश्याको सहि पहिचान भएन भने समाधान पनि हासो उठ्दो हुनु स्वाभाविक हो। बजारले जहिले पनि हासो उठ्दो समाधानको पक्षमा पैरवी गर्छ, त्यसो नगरे बजारको उद्देश्य पुरा हुदैन। एउटा कम्पनीको स्लोगन नै छ- “Buy more Save More”। बढी खरिद गरेर बचत हुन्छ की खर्च? कुरो सिम्पल छ, यस्तै उट्पटाङ् कुरा गरेरै हो बजारले नाफा कमाउने। आवश्यकताभन्दा बढी खरीद गरेर कहिले बचत हुदैन, त्यसले स्रोतको दुरूपयोग हुन्छ र उपभोक्तालाइ क्षतिनै हुन्छ अन्ततोगत्वा। बजारले यस्ता प्रबृति र संस्कृतिको प्रबर्धनमा नाफाको निकै निकै ठुलो हिस्सा ‘इन्भेस्ट’ गर्छन् र फाइदाको साम्राज्य अकन्टक बनाउन चाहन्छन्। ढाँटेको कुरो काटे मिल्दैन। अनि नियमित आकस्मिकतामा आउँछ मन्दी। लेखकले यस्तै भुइफुट्टा प्रबृतिको प्रतिनीधि एउटा पात्रको मनस्थितिलाइ चित्रण गरेका छन्, म त्यो पात्रको भावसँग सहमत भइन तर मैले मनोरन्जन लिएँ पात्रको उट्पट्याङ भावधाराहरूबाट। कुनै पात्रसँग म एकाकार हुनै पर्छ भन्ने पनि छैन। महाभारत पढेर न सबै कर्ण बन्छन् न अर्जून न कृष्ण न धृतराष्ट्र।

 (३ ) सांस्कृतिक धरातल
लेखक विश्वबन्धुले मान्छेको सांस्कृतिक धरातल कसरी निम्छरो बन्दै गएको छ त्यसको चित्रण बडो सरल ढंगले गरेका छन्। मुल पात्र शिशिरले उसकी घरबेटीकी श्रीमती एक्कासि आफूलाई उत्तेजित पार्न आएर आफ्नो ‘इज्जत’ गुमाउन बाध्य भएको भाव अभिव्यक्त गर्छ। त्यो भन्दा उच्चस्तरको परिहास अरू हुन सक्दैन, लेखकको यो सफलता हो। कुनै अर्धपागल पात्रले पृथ्वी च्याप्टो भएकाले म पृथ्वी नामको थालको विटबाट म खसेँ भनेर भन्यो भने त्यो हास्यरस त हो। महिलाहरूलाई यौनका-पुतली भन्ठान्ने सम्भ्रान्त वर्ग छ, जसले विगतमा आफू मर्दा श्रीमतीलाई पनि सँगै जलाउन सतीप्रथाको सुरुवात गरेको थियो। त्यसैका धरोहरलेनै हो आजको समयमा अर्काकी श्रीमतीले बाध्य पारेर आफ्नो इज्जत जोगाउन नसकेको भनेर सोच्ने। सामाजिक सञ्जालमा कवि सीमा आभासले लेखेकी थिइन, सन्नी लियोनलाइ सन्नी लियोन बनाउने उनीहरू, सन्नी लियोन रुचाउने उनीहरू, सन्नी लियोन ल्याउने उनीहरू, सन्नी लियोनलाइ विरोध गर्नेहरू उनीहरू। हो, समाजमा विकृति फैलाउने साँस्कृतिक औजारको प्रचुर प्रचार प्रबर्धन र ब्यापार गरेपछि समाज बिग्रिएको दोश कसैलाइ त दिन परो आफुलाइ दोशी करार गर्न त भएन, अनि महिलालाइ दोश बोकाएर बुर्काभित्र लुक्न बाध्य पार्ने कुरा पनि यस्तै मुर्कट्टा प्रबृत्तिको कारण हो।

लेखकले त्यस्ता पात्रको फोटो खिचेर उपन्यासमा प्रस्तुत गर्दा त्यो फोटो आफ्नो जस्तै मानेर तर्सिने प्रबृत्ति पनि अझ रोचक थियो। खराव प्रबृत्तिको समूल अन्त गर्न पहिले खरावलाइ देखाउनु पर्छ, कुहिन लागेको भाग यो हो भन्नुपर्छ। तर समाजको कुरूपपक्षलाइ जोगाइरहदा नाफा कमाइरहेको एउटा बर्गका प्रतिनीधि जसले आफूलाइ स्वतन्त्र भन्न रूचाउँछन्, उनीहरूले समाज भाडिने डर देखाएर त्यस्तो खराव प्रबृत्ति बेनकाव बन्नबाट जोगाउने कोशिष गरिरहन्छ। छुटेको रेलमा पनि त्यस्तै विद्रुप चरित्रको प्रतिनिधी पात्रलाइ सरस ढंगले लेखकले प्रस्तुत गरेका छन्। धेरै जसो सामाजिक विकृतिको रोग फैलाउने हरिया झिगाहरूले उनले उक्काइदिएको यो विकृत पक्षको चित्रणलाइ निकै असहज लिएको र सामाजिक सन्जालमा विरोध गरेको पनि दियो। छुटेको रेलले खाली पर्दा मात्र खोलिदिएको छ। त्यसपछिको स्टेप भनेको त्यसको कारण खोतल्ने हो, जुन कुरा छुटेको रेलले गरेको छैन, यदि त्यसो गर्दो हो त अझ धेरै विरोध हुने थियो। समाजको विकृति मास्ने तेस्रो प्रकृया भनेको बैकल्पिक साँस्कृतिक धरोहर उभ्याउने हो, जुन कुरा पारिजात र पारिजातहरूले गरेका छन्।

( ४ ) कथाको समापन
लेखक विश्वबन्धुले कथालाइ संयोगात्मक बनाएका छन्। यसलाइ मैले अर्को सकारात्मक पक्षको रूपमा लिएको छु। किनकी कथाले उठान गरेको विषयले यो पारिवारिक विग्रह तर्फ जानुपर्ने थियो तर लेखकले जानीबुझी यसलाइ आशावादी मोडमा छोडेका छन्। यसले उनले भविश्यमा अरू सिक्वेल लेख्ने र त्यसमा थप सकारात्मक सन्देश दिने मार्ग प्रसस्त गरेको देखिन्छ। प्रेममा जुन पागलपन देखाइएको छ त्यो युवा सम्वेग हो, जसले समाजमा परिवर्तनको मुल तत्व हो। युवाहरूको सचेत पागलपनबाट मात्र समाजमा परिवर्तन आउँछ। फाइदाका लागी मात्र लाग नाफाका लागि मात्र लाग भन्ने बजारू आह्वानको विरूद्दमा त्याग र समर्पणको जुन कथा बुनिएको छ त्यो स्रहानीय छ। यध्यपि यो कथाको पात्रको जुन चेतनास्तर देखाइएको छ उसकोस्तरसँग यो मेल खाँदैन। हुनत लेखकले देखाउन खोजेको वैचारिक प्याराडक्स पनि हो। जुन कुरालाइ भने यो समर्पित हुने प्रबृतिले पुष्टि गर्छ।


 (५ ) सारमा
लेखकले यो छुटेको रेललाइ सकेसम्म सरल र सरस बनाउन प्रयास गरेका छन्। समाज विज्ञानका जार्गन र नेपालको पृष्ठ भुमिको बढी ब्याख्या गर्नबाट जोगाएका छन्। राम्रो साहित्यले समाजको सुन्दर भविष्य प्रतिको प्रतिबद्धता मुखर गर्नुपर्छ। असल साहित्यले असल र उन्नत चरित्रको समानता, न्याय र शोषण-न्युनिकृत समाजको परिकल्पना गर्नुपर्छ ‘विट्युन द लाइन’ अर्थमा। त्यस अर्थमा छुटेको रेलले पनि प्रवासको जीवनमा देखिएको कुरूप पात्र र चरित्रको चित्रण गरेर खराव तत्वलाइ नङ्ग्याउने प्रयास गरेको छ, अर्को स्टेप भनेको त्यसको भित्री कारक तत्व उधिन्ने र विकल्पको प्रस्तुति दिने काम आगामी दिनमा गर्लान भनेर आशा गर्ने ठाउँ भने देखिन्छ। हो, काब्यिक विम्वको आलोकमा भन्दा कतिपय यौनका दृश्यहरूमाथि अलि मेहनत गरेको भए अझ प्रभावकारी हुन्थ्यो। त्यसलाइ नयाँ बिम्व र प्रयोगले चित्रण गरेको भए राम्रो हुन्थ्यो भन्ने चाहि लागिरहन्छ। मैले यो उपन्यासलाइ २१ सताब्दीको महान साहित्य भनेर तारिफ गरेको छैन, तर एउटा इन्जिनिएरले अर्थात गैरसाहित्यको विद्यार्थीले गरेको यो प्रयासलाइ प्रोत्साहित गर्न भने कन्जुस्याइ गर्न हुदैन। उनले भोलीका दिनमा उनका कलमबाट जन्मिन सक्ने अझ प्रभावकारी रचनाहरूको भविश्यलाइ भने देखाएको छ। फरक परिवेश, फरक परिवेश रहेको डायस्फोराको क्षितिज सम्मको घाँसे मैदान खुलाछ लेखकका लागी त्यसमा जति पनि विचरण गर्न सक्छन्, र लेख्न सक्छन्। हाम्रो जस्तो आप्रवासी अर्थतन्त्रले धानेको मातृभूमिमा अझै लाखौ जना ब्यक्ति शीशिर हुन अभिसप्त छन्, रहने छन्। तीनकालागि लेखक र यस्तै परिवेशमा बाँचेका लेखकहरूले अझ धेरै गर्नु छ। 

(साहित्यकार कुसुम ज्ञवाली नेपाली रेडियो क्याल्गरीका कार्यक्रम संयोजक पनि हुनुहुन्छ।  )

July 07, 2019

विश्वबन्धु कार्कीको उपन्यास 'छुटेको रेल' सार्वजनिक

उपन्यासकार विश्वबन्धु कार्कीले आफ्नो दोश्रो उपन्यास 'छुटेको रेल' पाठक सामु लिएर आएका छन्।उन्को पहिलो उपन्यास 'मोना' वि. सं. २०७० सालमा प्रकाशित भएको थियो।'छुटेको रेल'लाई बुकवर्ल्ड पब्लिकेशनले प्रकाशन गरेको हो। अमेरिका भासिएको एक शिक्षित नेपाली युवाको कथा बोकेको छुटेको रेलको मूल्य रु. ३०० रहेको छ। सुनेको र भोगेको अमेरिका फरक छ भन्ने सार उपन्यासमा देख्न पाइन्छ।अमेरिकी जीवन नभोगेका पाठकले यो उपन्यास एक पटक पढ्नै पर्ने उपन्यासकार कार्की बताउनुहुन्छ।पेशाले सिभिल इन्जिनियर कार्की अमेरिकाको भर्जिनिया राज्यमा बस्छन्।

कृति : छुटेको रेल
विधा :उपन्यास
मूल्य :रु. ३००
प्रकाशक तथा बितरक: बुक वर्ल्ड पब्लिकेशन
प्रकाशन मिति :२०७६ असार

काठमाडौंका निम्न पुस्तक पसलहरूमा उपलब्ध छ:
मन्जरी पब्लिकेशन, पुतलीसडक
कालिन्चोक बुक्स, प्रदर्शनीमार्ग
जागरण बुक हाउस, अद्वैतमार्ग, बागबजार
ज्ञानज्योति (शिखा) बुक्स, अद्वैतमार्ग
प्राइम बुक्स, अद्वैतमार्ग, बागबजार
पाँचपोखरी बुक स्टोर, न्युरोड
हिमशिखर बुक्स, न्युरोड
पश्चिमान्चल बुक्स, न्युरोड
बज्रबाराही बुक्स, भोटाहिटी
एमके बुक डिस्ट्रीब्युटर्स, भोटाहिटी
एजुकेशनल बुक हाउस, जमल
रत्न पुस्तक भण्डार, बागबजार
राई बुक्स, जावलाखेल,
सुनवर्षी बुक हाउस, टोखारोड, धापासी
अभियान बुक्स, गंगबु।

उपत्यका बाहिर:
सक्षम बुक्स, धनगढी
बुकमार्ट, पोखरा,
सम्पूर्ण किताब र सुनगाभा पुस्तक पसल, नारायणगढ
हिमालय बुक हाउस,बुटवल।

अबको केही दिनमा निम्न पुस्तक पसलहरूमा उपलब्ध हुनेछ:

मैनाली पुस्तक पसल, बिराटनगर
प्रभात पुस्तक पसल,बुटवल

अनलाइन अर्डरमार्फत विश्वको जुनसुकै स्थानमा उप्लब्ध हुनेछ,अर्डर गर्न लिन्कमा थिच्नुहोस्।

Order online at:
www.kitabyatra.com
www.esewapasal.com

पुरस्कार  घोषणा 
उपन्यास ‘छुटेको रेल’सँगको फोटो /सेल्फी खिची  छुटेको रेलको फेसबुक पेजमा ट्याग गर्ने पाठकहरु मध्ये गोलाप्रथाद्वारा रू.दश हजार रकम पुरस्कार घोषणा भएको छ ।विजेताको  नाम २०७६ भाद्र १ गते Facebook Live मार्फत घोषणा  भएको थियो। पहिलो पुरस्कार पर्वत कुश्माका प्रदिप पुरीले  प्राप्त गर्नु भएको  छ ।  
https://www.facebook.com/watchparty/675641159578868/?entry_source=PAGE_FEED_OPTION&av=320802585519329

Featured Post (चित्रित पोस्ट)

BishwaArt