विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

November 01, 2016

छुट्यो टीका

खाली मेरो निधार छुट्यो टीका
दिदीबैनीको प्यार छुट्यो टीका।

आउछु भन्दाभन्दै वर्षौ बितिगो
विदेशको घरवार छुट्यो टीका।

झिलीमिली होला त्यो गाउँशहर
अँध्यारो यो संसार छुट्यो टीका।

मखमली सयपत्री फुलेको पल
खल्लो भो तिहार छुट्यो टीका।

October 08, 2016

दशैं आयो

दुवोमा लागेको शित सम्झें दशैं आयो
सुमधुर मालश्री गित सम्झें दशैं आयो।

हार्न जानेको छैन नेपाली मनले कतै
दुर्गा भवानीको जीत सम्झें दशैं आयो।

हुर्केको बचेरो पुग्यो सात समुन्द्र पारी
चराचुरूंगीको प्रीत सम्झें दशैं आयो।

देउरालीमा पिंग खेल्नेको भीड होला
सुन्दर नेपाली रित सम्झें दशैं आयो।

September 15, 2016

गजल

समुन्द्रको छाल नभए नि चल्छ
सेतो हिमाल नभए नि चल्छ।

उमेर मै बुढो देखिन थालियो
भैगो त्यो कपाल नभए नि चल्छ।

उभिन्छ चोकमा एक्लो शालिक
उस्लाई चाल नभए नि चल्छ।

घाँटी सुक्ने गरि गायो साथीले
मीठो सुर र ताल नभए नि चल्छ।


Featured Post (चित्रित पोस्ट)

BishwaArt