विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

November 01, 2016

छुट्यो टीका

खाली मेरो निधार छुट्यो टीका
दिदीबैनीको प्यार छुट्यो टीका।

आउछु भन्दाभन्दै वर्षौ बितिगो
विदेशको घरवार छुट्यो टीका।

झिलीमिली होला त्यो गाउँशहर
अँध्यारो यो संसार छुट्यो टीका।

मखमली सयपत्री फुलेको पल
खल्लो भो तिहार छुट्यो टीका।

October 08, 2016

दशैं आयो

दुवोमा लागेको शित सम्झें दशैं आयो
सुमधुर मालश्री गित सम्झें दशैं आयो।

हार्न जानेको छैन नेपाली मनले कतै
दुर्गा भवानीको जीत सम्झें दशैं आयो।

हुर्केको बचेरो पुग्यो सात समुन्द्र पारी
चराचुरूंगीको प्रीत सम्झें दशैं आयो।

देउरालीमा पिंग खेल्नेको भीड होला
सुन्दर नेपाली रित सम्झें दशैं आयो।

September 15, 2016

गजल

समुन्द्रको छाल नभए नि चल्छ
सेतो हिमाल नभए नि चल्छ।

उमेर मै बुढो देखिन थालियो
भैगो त्यो कपाल नभए नि चल्छ।

उभिन्छ चोकमा एक्लो शालिक
उस्लाई चाल नभए नि चल्छ।

घाँटी सुक्ने गरि गायो साथीले
मीठो सुर र ताल नभए नि चल्छ।


July 11, 2016

गजल

जल्नेहरूलाई छुट छ
कमिला एक जुट छ।

निगम बाड्दैछ बोनस
जहातही ब्रह्मलुट छ।

छिमेकी सन्की मेरो
भाई भाईमा फुट छ।

दक्षिणको भएन ठेगान
उत्तरमा पहिरो रूट छ।

July 04, 2016

गजल

बादलले छपक्कै ढाक्यो पानी पर्न देउ
मायाको त्यो ईन्द्रेणी मन मै झर्न देउ।

भोली देखि पिउने छैन कसमै खान्छु
अन्तिम पटक हो यो गिलास भर्न देउ।

झोल भरिएको बोतल कहिल्यै लडेन
शरीरभित्र सिसामा बग्दो नसा सर्न देउ।

धेरै दिनदेखि शान्त थियो मनको तलाउ
आज म भित्र बढिरहेको तुफान टर्न देउ।

July 01, 2016

गजल

सम्झेरै रात कट्दैछ आजकल
मनमा आशा अट्दैछ आजकल।

संसार टाढिदैछ झन् पर पर
दुरी हाम्रो घट्दैछ आजकल।

उपहार किन्नेको हुल बजारमा
फूल र नोट सट्दैछ आजकल।

यादले पछ्याइ रह्ये बाटोभरि
मुटुको व्यथा हट्दैछ आजकल।




June 28, 2016

गजल

वचन दियौ भोलीको कुरामा दम छ
तिम्रो मीठो बोलीको कुरामा दम छ।

प्रेमको भारीले थिचिएको छु दिनदिनै
बोकी हिड्ने झोलीको कुरामा दम छ।

गुनगान गाउने धेरै भेटिए यात्रामा
हल्ला बेच्ने टोलीको कुरामा दम छ।

पीडाले छियाछिया भो यो छाती
मुटु छेड्ने गोलीको कुरामा दम छ।

June 24, 2016

गजल

 मनमा काउकुति लगाउनेको के दोष?
मायाको वासना जगाउनेको के दोष?

उडी रह्ये मन फुरूङ त्यो आकाशमा
दिउसै जूनतारा मगाउनेको के दोष?

पर्खि बसें तिम्रो बाटो हेर्दै चौतारीमा
तिमीलाई सुटुक्क भगाउनेको के दोष?

यहाँ बेचिदोरैछ प्लाष्टिकको गुलाब
पैसासँग यो प्रेम ठगाउनेको के दोष?
                  ***

June 23, 2016

गजल

मन्दिरको भेटी चोर्नेहरू हे राम राम
देशको ढुकुटी फोर्नेहरू हे राम राम।

धाराबाट थोप्पो झर्दैन पानी शहरमा
मेलम्चीको नक्सा कोर्नेहरू हे राम राम।

भुकम्प पीडितहरू अझै पाल मुनि छन्
दानको डलरले घर जोर्नेहरू हे राम राम।

बालुवामा सुन खोज्न उड्यो ऊ खाडीतिर
सिंहदरबारमा पैसा सोर्नेहरू हे राम राम।
                      ***

गजल

रोम रोममा नसा चढेको बेला
मुटुको चाल अलि बढेको बेला।

नसुनाउ तिम्रा प्रेम कहानीहरू
मनमा व्यथा गढेको बेला।

कसरी भागौं यो दुनिया देखि
पृथ्वी नै सारा अढेको बेला।

मुनामदनलाई कतै बिर्सियौ कि?
रोमियो र जुलियट पढेको बेला।
               ***

June 22, 2016

गजल

ओईलाइ फूल झरेर जान्छ
आकाशको जून सरेर जान्छ।

अजम्बरी छ प्रीत मायालु
मुटुमा जीवन भरेर जान्छ।

जब भेट्छु तिमीलाई बाटोमा
मायाको ईन्द्रेणी परेर जान्छ।

दु:खको दलदलमा भासिएछु
नडराउ यो दशा टरेर जान्छ।

कति कुद्ने सधै पैसा कै लागि?
शरीर त एकदिन मरेर जान्छ।
                ***

June 21, 2016

गजल

खोज्छ भोक जिन्दगी भातको सितामा
हेर्छ टुहुरो एकटक जल्दो घाटको चितामा।

जिसस् इज ग्रेट भन्दैथे पुजारी बाबा
कसम खाएर उनै फेरि छुन्छन् गीतामा।

अर्ति छाडी  हिड्यो छोरो अर्कै बाटो
आज खोट देख्दैछ ऊ आफ्नै पितामा।

भेटी एक चढाई भक्त टिप्छ पाँचका नोट
देखी हाँस्छन देवता मन्दिरका भित्तामा।
                        ***        

June 14, 2016

गजल

कपास रूपि कोमल मन फलाम झै भारी भयो
सधै साथमा हुने डुंगा आज खोला पारी भयो।

उकालोमा धकेलेको अभिनय गर्छन उनीहरू
मृगलाई झै ओरालोमा लखेट्ने क्रम जारी भयो।


आजकल मौन देख्छु तिम्रा गुलाबी ओठहरु
मेरा केही सुझाव पनि तिम्रालागि जुहारी भयो।


नाम र दामकै पछि लागिरहेछ यो दुनियाँ
घुइयाको तिम्रो भाउ सुनकै हाराहारी भयो।
                        ***        
             -विश्वबन्धु कार्की

गजल

सुन्दर मनको मझेरीमा आएर गयौ
मेरो बेग्लै संसारमा रमाएर गयौ।

पीडाको समुन्द्रमा म लड्नै लाग्दा
बेसाहरा हात मेरो समाएर गयौ।

मुटु भित्र प्रेमको हिउ पग्लदै थियो
मन भरि आसुँको दह जमाएर गयौ।

खुशीका पालुवाहरू हरियो बनि आएथे
खाटा बसेको घाउमा नूनचुक थमाएर गयौ।

ढुक्क लाग्थ्यो मलाई तिम्रो साथ हुँदा
थरथरी यो कोमल मुटु कमाएर गयौ।
                     ***        
            -विश्वबन्धु कार्की

June 13, 2016

मेरी चन्द्रमा

हे वतास
उडाई देउ त्यो कालो बादल
हे अग्नि
पगालि देउ उस्को देखिने दाग
छेकिएको त्यो तिम्रो रूपलाई
प्रष्ट हेर्ने मेरो रहर।
तर उही अन्धकार
कति फरक छ दिन र रातमा
दिनको उज्यालो देखि डराउने चन्द्रमा
रातमा स्वयम उज्यालो बोकेर आउछ
अनि लुक्छ औसींको रातमा कतै।
तर उस्लाई
जस्तै बादलले छेके पनि
जस्तै ग्रहणले खाए पनि
जस्तै दिनले सताए पनि
फेरि एकदिन टहटह उभिदिन्छ
मेरो आँगनीमा
निश्चल प्रेमकी खानी मेरी चन्द्रमा।
               ***
           -विश्वबन्धु कार्की

June 11, 2016

तिमी र फूल

म हिड्दै थिए
तिम्रो घर छेउको बाटो
यस्सो नजर लगाएँ
तिमी हाल्दै थियौ पानी
बगैचाका फूलहरूमा
म टक्क अडिएँ र हेरेँ
दोधारमा थियो मन
अनि सोधेँ अाफैलाई
मलाई तिमी मन पर्यो
या
तिम्रो बगैचाको फूल?

गोरेटो

सुन्दर लाग्दो रहेछ
यो सघुरो गोरेटो
त्यो एउटा घामको झुल्काको प्रबेशले पनि
तिमी तेही झुल्को बनेर
आयौ यो जिन्दगीमा
अब बाँकी बाटो
सुन्दर,उज्यालो र फराकिलो देख्छु। 

June 04, 2016

कविता-'गुलाबको थुंगा बोकेर'

यो कपास झै कोमल मन
गहुंगो छ किन किन तिम्रो यादमा
हेर्छु त्यो आकाशलाई
तिम्रो मुस्कान मडारिरहे झै
अनि तिम्रा खुसीहरु
थोपा थोपा बनि खस्न खोजिरहे झै लाग्छ
तर खस्न सकिरहेछैन
मेरा खाली हातहरुमा।
त्यो इन्द्रेणी मेरो छाती मै
आएर बिलाए झै लाग्छ
अनि फेरि
पल्टाउछु हाम्रा प्रेमका पानाहरु
खोज्छु एक-एक पाना भित्र
हाम्रा सम्बन्धमा बाटिएका प्रेमका पोयाहरुलाई
तर सबै
भुई भरि छरिएका
फूलका थुँगाहरु जस्तै लाग्दछन्
जस्लाई मेरो अँजुलीमा राख्न खोजिरहेछु।
तर त्यो निष्ठुरी बतास
यस्का पत्र पत्रहरुलाई उडाउदै लगिरहेछ
म भन्दा कैयौ कोश दुर।
त्यो लडेको जीवनको रथ उठाउन
फेरि पनि
टोलाई बस्दैछु तिम्रो सुन्दर आगमन कुरेर
यो दोबाटोमा
एउटा गुलाबको थुंगा बोकेर।

कामना गरिरहेछु पल पल
त्यों मन्दिरको ईश्वरसंग
त्यो एउटा कालो सपना मात्रै होस भनि।
तिम्रो हातको स्पर्शमा
मात्रै पनि मलाई संसार जित्छु झै लाग्थ्यो
तर जीवन तिमीले मैले सोचेको जस्तो
कहाँ हुँदोरहेछ र ?
यो सुन्दर संसार सिंगार्ने हाम्रा अभिलासाहरु
सबै बियोगका खाडलहरुमा
आज पुरिन बाध्य भए।
तिम्रो अनुपस्थितिमा
यो जीवनको रंग पनि
फिक्का फिक्का लागिरहेछ।
त्यो पापी समय,
जसले तिमीलाई लिई गयो
हाम्रो सुन्दर संसार उजाड़ बनाई।
त्यो निष्ठुरी समय,
जोसंग म गुनासो गरिरहेछु
यो उजाडिएको जिन्दगीमा
उ विनाको बसन्त चाहिन्न भनेर।
त्यसैले,
जब सम्म तिमी फर्किन्नौ
पर्खि बस्दैछु तिम्रो सुन्दर मिलन कुरेर
यो दोबाटोमा
एउटा गुलाबको थुंगा बोकेर।।
                 ***          -विश्वबन्धु कार्की (हाल: भर्जिनिया,अमेरिका)










Featured Post (चित्रित पोस्ट)

BishwaArt