भर्खरै: फ्लोरिडाको एक स्कुलमा पुर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको ज्यान गयो,आक्रमणकारी प्रहरीको नियन्त्रणमा। अमेरिकी फुटबलको 'सुपरबल ५२'को उपाधी फिलाडेल्फिया ईगलले जित्यो,न्यु ईङल्यान्ड पेट्रियोट ४१-३३ले पराजित। साउथ क्यारोलिनामा एमट्र्याक रेल दुर्घटना हुँदा दुईको मृत्‍यु ११६ भन्दा बढी घाइते। गैरकानुनी आप्रवासीका छोराछोरीलाई नागरिकताको बाटो सुनिश्चित हुने अवसर दिने राष्ट्रपती ट्रम्पको सन्केत,तर त्यसको लागि आफुले अगाडि सारेको आप्रवासी नीतीलाई विपक्षी डेमोक्र्याट्सहरुले पनि समर्थन गर्नु पर्ने जोड। टेक्सासको एक ग्यास स्टेसनमा लुटेराले गोली चलाउदा स्टोरमा क्लर्कको काम गर्ने तीन महिना अघी मात्र अमेरिका आएका एक नेपालीको मृत्‍यु। अमेरिकाको विभिन्न राज्यहरुमा रहेका ९८ वटा सेभेन ईलेभेन स्टोरहरुमा आईसको छापा। अमेरिकाले यल सल्भाडोरलाई १५ वर्ष देखी दिदै आएको टिपीयस सुविधा खारेज गर्‍यो, २०१९को अन्त्य सम्म दुई लाख साल्भाडोरियनले अमेरिका छाड्नु पर्ने। २०१८ को जनवरी २२ देखि अमेरिकाको यातायात सुरक्षा विभागले नौ राज्यले न्यूनतम संघीय सुरक्षा मापदण्ड पुरा नगरेको भन्दै उक्त राज्यका सवारीचालक अनुमति पत्रको भरमा हवाईयात्रा गर्न नपाउने निर्णय लिएको छ।

27 June, 2015

कथा-'त्यो रात'

संयुक्त राज्य अमेरिकाको उत्तर पूर्वी राज्य भर्जिनियाको पुरानो र सुन्दर शहर 'फल्सचर्च'। रातको करीब दश बजेको समय। ली हाइवेमा मोटरगाडीहरु बिस्तारै पातलिदै थिए।आकाश हल्का कालोनिलो भएर आयो,सायद राती पानी पार्ने बाताबरण बनाउदै थियो प्रकृति।
आफिसको काम सक़ेर म अन्य दिन भन्दा अलि ढिला आफ्नै गाड़ीमा घर फर्कदै थिए,गाडीमा बाहिरको मौसमसंग मिल्दोजुल्दो एउटा अंग्रेजी गित गुंजिरहेको थियो। म त्यों सुनसान सड़कमा संगीतको तालमा हराईरहको थिए। मलाई सड़कमा आफु एक्लै मात्र  दौड़ीरहेको आभास भैरहेथ्यो । हिडेको करीब ५ मिनेट पछि मेरो गाड़ीले मेरीफील्ड गार्डेन क्रस गर्यो। दिनभरको कामले म केहि थकित थिए। पानीको चुस्की लगाउँदै म स्टेरिंग घुमाउदै थिए।अकस्मात्, सड़कको दाहिने पेटीबाट एक कालो बर्णकी अर्धबैशे महिलाले हात  हल्लाउदै गाडी रोक्न आग्रह गरिरहे झै लाग्यो। म रोक्ने/नरोक्ने दोधारमा थिए।गाड़ीको गति बिस्तारै घटाउँदै उस्कै छेउमा लगेर रोके। ऊनी गाडी नजिकै आएर  झ्यालमा ढकढकाउन थालिन।
'एक्सक्यूज मी,क्यान यू प्लीज गिभ मी अ राइड टू सेफवे ?' ऊनि बिनम्र भएर म संग प्रश्न गर्दै थिइन।
रातको समय एक अपरिचित महिलाले  मसंग सहयोग माग्दै गर्दा मेरो मानसपटललाई  के गर्ने के नगर्ने निर्णय गर्न निक्कै गारो भयो। मैले झट्ट 'यस' या 'नो' दुबै भन्न सकिन।
"हे डीड यु हिअर मि ?" उन्ले जवाफ माग्दै थिइन ।
म अकमकाए झै भए "म्याम! ओके व्हेरआर यु गोइंग?" मेरो मुख बल्ल खुल्यो।
"आईएम नान्सी,आई मिस्ड लास्ट बस फर बलस्टन मल" उनले आफ्नो बेली बिस्तार सुनाइन।मलाई दया पलाएर आयो। गाड़ीको झ्याल खोल्दै मैले राइड दिने सहमति जनाएर भने "ओके"।    
हातमा रातो हैण्डब्याग बोकेकी ऊनि मुस्कुराउदै मेरो गाड़ी भित्र छिरिन्।
                                         ****

उनको शरीरबाट निस्केको अत्तरको गाढ़ा बास्ना मेरो कार भरी फैलियो।सिटमा बसेपछि मैले उन्लाई  सिट बेल्ट बाध्न आग्रह गरे।  मलाई एकटकले हेर्दै ऊनि मुस्कुराईन। मेरो गाडी अघि बढ्यो। सड़क शान्त थियो। ४९५ बेल्टवेमा  रफ़्तारमा गुडेका गाडीको आवाज प्रस्टै सुनिन्थ्यो।ऊनि मसँग बोल्ने  केही बहाना खोज्दै थिइन सायद,सिटको पछाडिको भागमा टाउको बिसाएर लामो स्वास तान्दै भनीन 'व्हेर डू यु लिभ ?'
मैले आफु यही फल्सचर्च सहरमा बस्ने जवाफ दिए।
'आर यु सिंगल ?' सायद कुनै अपरिचित स्त्रीले सोधेको पहिलो प्रश्न थियो मलाई।
'होइन, म  बिबाहित हु, मेरो दुई  बर्षको छोरो पनी छ ',मेरो जवाफ सुनेर  उनी  केही समय चुप लागिन। त्यों समय सम्म  गाडीले जेफ़र्सन पार्क क्रस गरिसकेको थियो।
'आर  यु ह्याविंग अ  ह्यप्पी लाइफ ? ऊनि मलाई खोतल्दै थिईन।
खुसी छु जीवन देखि किनकि आफैले रोजेको मान्छे जो मैले पाएको छु हरेक सुख दुःखको साथी। मैले गाडीको गति केही बढाए।अब त उस्को ओर्लने ठाउ  पनि नजिक आइसकेको थियो।
'यु सेड सेफवे राइट ? मैले उस्को गन्तब्य नजिकै पुग्नै लागेको जानकारी दिए। उस्को  मुन्टो मात्र हल्लियो।
सेफवेको पार्किंगमा लगेर मैले गाडी रोके। ऊतिर फर्केर हेर्न खोजे। मलाई टाउको पछाडि कुनै कडा बस्तुले घोचे जस्तै लाग्यो। मैले हात पछाडि बढाएर त्यो कडा बस्तुलाई समात्ने कोशिस गरे। तब म छांगाबाट खसे जस्तै भए।  उसको हातमा रहेको कालो रंगको ह्याण्डगन मेरो टाउकोमा तेर्सीरहेको थियो।
'गिभ मी योर् वालेट' उस्को बोली अली कडा भयो। मलाई प्रतिक्रिया जनाउनु उचित लागेन।
'ओके ... ओके' केही आत्तिँदै अनि लरबरिदै यत्ति बोल्न भ्याए। 'हेल्प हेल्प ' भनेर चिच्याउन मन लाग्यो। तर त्यों एकान्त पार्किंग लटमा मेरो गाडी बाहेक कुनै गाडी थिएन। मेरो जीवनको सूर्य क्षितिजमा अस्ताउदै गरे झै लाग्यो।
मैले दुई हात जोडेर उसँग जीवनको भीख मागिरहेको थिए। डरले गर्दा मैले पाइंटको खल्तीमा रहेको फोन झिक्ने आट गर्न पनि सकिन। मेरो हात कापिरहेको थियो। पाइंटको पछाडीको खल्तीबांट आफ्नो वालेट झिकेर उस्को हातमा राखिदिए।मेरो वालेट भित्र घर पठाउनको लागि एटिएमबाट झिकेका बीस/बीसका नोटहरु जम्माजम्मी ५०० डलर थियो,अनि मेरो परिचय पत्र र केही कार्डहरु पनि थिए। उस्ले पैसा मात्र झिकेर वालेट म तीरै हुईकाईदिई।
'डोन्ट ड्राइभ योर कार अंटिल फाइभ मिनेट ओके ' भन्दै उ गाडीको ढोका खोलेर बाहिर निस्किई। उ छिटो-छिटो ली हाईवे क्रस गरेर बाटो पारी उभिई। एउटा कालो भ्यान उसको अगाडि आएर रोकियो । मैले त्यस भ्यानको चालकलाई अँध्यारोको कारण देख्न सकिन। त्यों भ्यान त्यहाँबाट कुलेलाम ठोक्यो।
मैले लामो सुस्केरा हाले। दुई  हातले दुबै आँखा मिचे। मेरो गाडीमा उस्को अत्तर अझै बसाइ रहेको थियो।मैले गाड़ीको दुबै झ्यालको सीसा खोले।  बाहिरबाट चिसो हावा सरर गाड़ी भित्र छिर्यो। मैले एक पटक बाहिर चारैतिर नजर डुलाए। आफु ठुलो दुर्घटनाबाट जोगिएको आभास गरे।  आफ्नी श्रीमती र सानो छोरोलाई सम्झिए।  मेरो गाडी सेफवेबाट कत्ति चाँडो घर पुग्यो मलाई होसै भएन। गाडीबाट हतार हतार बाहिर निस्केर घर तर्फ अघि बढे। घरको पेटीबाट एउटा बिरालो मलाई हेर्दै फूलहरुको पोथ्रा तीर छिर्यो। मेरो मन अझै डरले कापिरहेको थियो। घरको ढोका ढक्ढकाए। धेरै बेर लगाएर श्रीमतीले ढोका खोलिन।
'आज किन ढीला गर्स्यो नि ,म त टिभीमा लोकल न्यूज़ हेर्दै बसेको थिए, यो न्यूजले त मेरो मनै आत्तियो भन्या' श्रीमती बोल्दै गइन।  मैले  जुत्ताको तुना खुस्काउदै भने 'हेर न आज एउटा साथीलाइ राइड दिनु पर्यो त्यसैले ढिलो भयो। '
ऊनि मलाई हेर्दै भन्न थालिन 'राति हिडडुल गर्नु एकदम रिस्की छ हजुर, म त्यै न्यूज हेर्दै थिए,आज दिउसो यही अलेक्जेंड्रिया मैं एउटी आइमाईले लिफ्ट मागेर कारवालाको सबै लुटिछे , त्यों हेरेर मेरो डर झन बढेर आयो, हजुर पनि हिड्दा धेरै होसियार भैस्यो है, नचिनेको मान्छेलाई कहिल्यै लिफ्ट नदिसेला।'
मैले पाइंटको मोबाइल छामे अनि उनको बोलीमा सहमत हुँदै टाउको हल्लाए र भने 'हो नि ,अनि छोरो खोई त ?'
उनको जवाफ आयो 'बाबु त अघि नै सुति सक्यो।'
                                      ****          -विश्वबन्धु कार्की (हाल:भर्जिनिया,संयुक्त राज्यअमेरिका)





24 June, 2015

कविता-'फूल'

फुल्ने फूल
अन्त्यसम्म नि फुलिरहन्छ,
तेस्ले कुनै भूल गर्दैन,
मात्र फूल हेर्ने आखाहरु फरक छन,
मेरो  निम्ति
एउटा फूल फुले पुग्छ
जून अजर अमर फुलिरहन्छ

08 June, 2015

सन्स्मरण-'गुन्द्रुक र सुकुटी'


लेख्ने आट नै हरायो भनौ या लेख्ने जागर नै भयन,तर पनि आज म लेख्ने साह्स बटुल्दैछु ।खोई कुरा कहा बाट सुरु गरौ,मनमा धेरै कुरा हरु बाहिर निस्कन ब्याकुल छन।
आठ महिना अघि अमेरिका प्रस्थान गर्दाका केही तरंगहरु खोतेलने प्रयास गर्दैछु ।लन्डन हीथ्रो एयरपोर्टमा कतार एयरको एयरबस आबतरण गरे पछि त्यहा करीब २ घंटाको ट्रांसिट थियो , त्यहाबाट अमेरिकाको डालस वाशिंगटन डिसी को लागी यूनाइटेड एयरलाइंस को फ्लाइटको लागी चेकिंगको लाइनमा म र मेरी पत्नी लामबद्ध थियौ।
हैण्डक्यारी का सामान हरु लाई एक्सरे  मेसिन भित्र राख्ने काम भैरहेथ्यो ,अचानक मेरो ब्याग लाई स्क्यान गर्दा "ट्या"  "ट्या " "ट्या" गरेर आवाज आयो ।
नेपाल को टीआईए, कतार को दोहा एअरपोर्ट मा केही नभएको कुरा लन्डन मा कसरी हुन पुग्यो आफै चकित परे ।केही समय अघि संकास्पद पार्सललाई एअरपोर्ट मा नियंत्रण मा लिएको समाचार अंतरास्ट्रीय समाचार माध्यम हरुले प्रमुख समाचार बनाएर प्रसारित गरेका समाचारहरु झल्झालती सम्झन पुगे ।मनमा डर र त्रासको हरीकेन  नै आय झै भयो ।अनि सम्झे आतंकबादको युद्ध लड़ीरहेका अमेरिका र यूरोपमा एउटा सोझो नेपालीको छोरो हतियार सहित समातिएको समाचार संसारभर छण भरमै चैतको डढेलोझै फैलीरहेको लाग्यो ।
"हात माथि गर ' अंग्रेजी भाषामा त्याहाको सेकुरीटी हेर्ने गोरो मान्छेले भन्यो  अनि दूबै जनालाई एउटा छुट्टै कोठामा लिएर गयो ।डरले सीमा नाघ्न थाल्यो ,अब के हुने हो ? भन्ने प्रश्न  मात्र दिमागमा दौड़ीरहेथ्यो ।"नेपाल बाट ?" पासपोर्ट हेरेर उसले सोध्न सुरु गर्यो ।

'झोलामा के के बोक्न मिल्छ तिमीलाई था 'थिएन ?'
'थियो '
'अनि यो के हो थाहा छ तिमीलाई ?'
'हजूर सर थाहा छ '
'अब तिमी जान पाउन्नौ अमेरिका ' उसले टाउको हल्लाउदै भन्यो ।
मेरी पत्नी र म एक अर्का लाई हेर्दै कालानीला भैसकेका थियौ।मैले दुई हात जोडेर बिन्ती गरे र भने 'यो मेरो पहिलो बिदेश यात्रा हो त्येसैले थाहा भएन, म जे पनि  सजाय भोग्न तयार छु ' मैले यति भन्ना साथ उसले मलाई एउटा कागज मेरो अगाड़ी राख्दै सही गर्न अर्हायो। मलाई तब  भने पार पाइएको जस्तो भान भयो,हल्का मनले सरासर सही गरिदिए । उसले मेरो झोला  भीत्रको सामान नजिकैको बिनमा फालिदियो र अघाड़ी बढ़न इशारा गर्यो।त्यसपछि धेरै ठुलो मुक्ति मिलेको भान भयो हामी दुबैलाई ।त्यतीबेला हामीलाई पिंजड़ा बाट चरा छुटे झै भान भएथ्यो,सायद त्यसबेलाको हाम्रो  अनुहार हेर्न लायक को थियो होला  । बास्तबमा त्यों मेरो झोला भीत्रको सामान केहि नभएर पानी राख्ने प्लास्टिकको बोतल थियो ।

डलासएअरपोर्ट मा बोईंग जहाज अबतरण भएपछि पनि हामी इमीग्रेसनमा चेकिंगमा थियौ ।तेस्बेला भने लन्डनको जस्तो नहोला भन्ने लागीरहेथ्यो ।तर त्यस्तो भएन ,फेरी मेसिनले "ट्या"  "ट्या " "ट्या" गरेर आवाज निकाल्यो।' लौऊ फसाद ' फेरी एस्तो के भयो ? हामी चकित थियौ ।त्यहाको सेकुरीटी अफिसरले झोला खोल्न भन्यो ।हामीले झोला खोल्यौ,भीत्र केहि भएजस्तो त लाग्या थिएन ।तर पनि उस्ले झोला बाट एउटा सामान लन्डन कै जसो गरि बिनमा फालिदियो।धन्न उस्ले केहि गर्न भनेन ,मलाई लाग्यो किन मैले ति समानहरु लिएर आएछू?  अब त झोलानै रित्तो थियो ,गंतब्यमा पहिलो पाईला टेक्दै गर्दा एउटा कसम खाए 'अब उपरान्त त्यस्ता खाने कुरा लिएर कतै उड़ने छैन'।त्यहा फालिएको चीज भने हामी  नेपालीको प्रिय  खानेकुरा  गुन्द्रुक र सुकुटी थियो । 

(चार वर्ष अघी अमेरिका आउने क्रममा भोगेको अनुभबमा आधारीत )

विचार-'चिनिएको सगरमाथा र नचिनिएको नेपाल'

संसारमा धेरैलाई नेपाल  नाम गरेको देश पनि छ र भन्ने लाग्दो रहेछ ।आज यस लेख लेखिरहदा आफुले अमेरिका आए पछि धेरै मुलुकका मानिससंगको भेट हुदाका अनुभव समेट्ने प्रयास गर्दैछु। संसारको नक्सामा चीन र भारत जस्ता बिशाल भूगोलको अगाड़ी यो सानो देशलाई सायद धेरैले ख्याल नगरेकोले पनि हुन सक्छ।यो सुन्दा मलाई दुख पनि लाग्यो ,यस्तो सबै कुराले सम्पन्न देश अमेरिकाको मान्छेलाई त्यति सामान्य ज्ञान पनि नहुनु हाम्रो के दोष ? स्कूलजीवन पार गरेका प्राय सबै नेपालीलाई संसारका सबै मुलुकको नाम थाहा छ भन्नेमा म बिस्वस्त छु ।
'तिमी कहा बाट?' त्यो अमेरिकीले प्रश्न गर्यो ।
'नेपाल ' मैले जवाफ फर्काए।
'नेपाल ? यो कहा छ ?' उसले अचम्म माने झै गर्यो ।
'यो एशियामा पर्छ,चीन र भारतको बिच मा' मैले ब्याख्या गरेर चिनाउने प्रयास गरे।
'तेरो देश के को लागि प्रसिद्ध छ ?' उसले मेरो देशको प्रसिद्धिको बारेमा जान्ने चेष्टा गर्यो ।
'तलाई एभरेस्ट थाहा छ ' मैले सुरु गरे देशलाई चिनाउन।
'थाहा छ, संसारको सबै भन्दा अग्लो चुचुरो होइन?' उसले जाने झै गर्यो ।
'अनि बुद्ध कहा जन्मेको तलाई थाहा छ ?' मैले अर्को प्रश्न गरे ।
'त्यो त इंडियामा ' उसले जबाफ फुस्कायो।
'होइन ,नेपालमा' मैले जिद्दी गर्दै समझाए ।
'गोर्खाजलाई चिन्छ्स ?' मैले अंतिम प्रश्न गरे ।
'वीर  योद्दाहरु होइनन?'उसले आफ्नो जबाफ दियो ।
त्यस पछि पनि हाम्रो धेरै कुराकानीहरु भए,त्यसलाई यहाँ राख्नु सान्दर्भिक ठानीन ।
त्यस मान्छे संग कुराकानी सकीए पछि पनि मेरो दिमागमा धेरै कुराहरु खेली रह्यो 'नेपाल'को बारेमा ।
एभरेस्ट र गोर्खाजलाई चिनेको मान्छेले किन मेरो देश नेपाललाई चिन्न सकेन? मेरो दिमागमा यही नै प्रश्न बारम्बार तेर्सिरह्यो
सगरमाथा हाम्रो देशको भूगोलमै पर्छ,यसको शिर संसारकै अग्लो दरिन्छ, किनकी यो छ नै ,प्रकृतिको उपहार हो यो, यसलाई कसैले अग्लो बनाएको होइन ,यो आफैमा अग्लो छ, यो निर्बिकल्प अग्लो छ ,संसारको शिरको रुपमा ।गोर्खाज हाम्रा पुर्खाको बलिदानी र सहासको प्रतिक हो ,यो कसैको निगाहले मिलेको परिचय होइन।खुकुरी र तरबारको भरमा संसार जितेका हाम्रा पुर्खाले आफ्ना संततिको खातिर छोडेर गएको एउटा अमूल्य चिनो हो ।यो बहादुरीका सामू सबैले शिर झुकाऊन कर नै लाग्छ ।कसैको ब्याख्याले यो पहिचान तलमाथि हुन सक्दैन ।यी कुराहरु म छाती फुलाएर भनीरहेछु।यो कुरा सबै नेपालीले गर्वका साथ भन्न सक्छन।
हाम्रो परिचय माथिका कुराहरुले बाहेक किन अरु कुरा हरुले दिन सकिन्न? माथिका परिचय बाहेक अरु कुनै नेपालको  बारेमा  किन गर्न सक्दैनौ ? किन हामीलाई कसैले नेपाल देशको भनेर चिन्न सक्दैन? के हाम्रो परिचय गरीव ,भ्रस्ट र आभावनै अभावको मुलुकले मात्र कतिन्जेल दिने ? हाम्रा नेताहरुले हाम्रो र देशको लागि कहिल्यै चुनाव जितेनन ,जीते त आफु र पार्टीकै लागि जीते । हामीले हामी र देशका  लागि सोच्ने कसैलाई नेता बनाऊन सकेनौ। यहाँ हड्डी एउटा भयो,अनि कुकुरहरु धेरै भए ,नारिवल एउटा भयो ,अनि बादरहरु धेरै भए ।त्यसैले हामी र देशले कहिल्यै जित्न सकेनौ ,सधै ती भ्रस्ट र फटाहा नेताहरु ले मात्र जीते, आफु धनि बने अनि देशलाई कंगाल बनाए।
अबको हाम्रो परिचय भ्रस्टचार  र अभावमुक्त नेपाल हुनु पर्छ, कसैको ब्याक्तिगत स्वार्थको लागि हामीले सड़कमा टायर बाल्नु भएन, सड़क बन्द गर्नु भएन।देशलाई सधै लुटीरहने ती सबै नेताहरु लाई अब एक पटक पनि बिश्वास नगरौ।घर र समाज बनाऊन आफै अघि सरौ,कसैको मुख नताकौँ। जय देश नेपाल।।।

05 June, 2015

कविता :'मैले छाडेको स्वर्ग'

प्रभातमा
मेरो घरछेउ बज्ने
मन्दिरका घन्टीहरुका आवाज
सुन्न नपाउदा
आजकल,
म बहिरो बनिरहेछु,
मोटरगाडीका कानै खाने
टड्कारा हर्नहरु
मलाई पलपल लखेटीरहेछन्
जिन्दगि को युद्ध जित्न,
किनकि,
मैले लुम्बिनी छाडेर आए|

बिरामी शरीरलिएर
म महिनौ कोठामा थलिदापनि
पल्लो कोठाको 'हेल्लो हाइ'
मैले सुन्न पाएको छैन,
यन्त्रमानबहरु
पैसा बनाउने मेसिन जस्तै
बेखबर छन्
यो प्रेम र ममता संग,
लोपोन्मुख मनबतासंग,
किनकि,
मैले बुद्ध छाडेर आए|

दिनभर सुर्य नदेखेको
सूर्यमुखीको शरीरजस्तै
मेरो मन ओइलाइरहेछ
यी मसनघाट झैँ लाग्ने
कंक्रिटका जंगलहरुभित्र,
यो निलो आकाश
म बस्ने घरको
कयौ तल्लाहरुमाथि
झुण्डिएझैँ लाग्दा
मेरो चन्द्रसुर्य फहराएको
देख्न पाएको छैन,
किनकि,
मैले सगरमाथा छाडेर आए|

यो शोकेसमा
सजिएका सुगंधहिन फूलहरु
यो स्क्रिनमा झर्दै गरेको
सेतो झरना
मलाई फकाएझैँ गर्दैछन्,
फ्रिजभरि सजिएका
स्वाद भरेका जुसहरु,
त्यो ठेकीको महि भन्दा
खल्लो छ , नमिठो छ
किनकि,
मैले जन्मघर छाडेर आए|

तनाब छ,आक्रोश छ
सबैतिर,
दुनियादेखि विरक्तिएकाहरु
निदाउन नसकेर
स्लिपिङ्ग ट्याब्लेट खाइरहेछन,
मनलाई खुशीपर्न
कृत्रिम सान्त्वना दिइरहेछन,
अनि म
बाचेको अभिनय गर्दैछु
यो बिरानो भूमिमा ,
किनकि,
मैले स्वर्ग छाडेर आए|
(यो कबिता सम्पूर्ण प्रबासी मनहरुमा समिर्पित गर्दछु)
:-विश्वबन्धु कार्की ,हाल:भर्जिनिया अमेरिका